काठमाडौंमा कोठाभित्र दुई जनाको शव फेला
२३ पुस, रौतहट । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र दुई जनाको शव फेला परेको छ ।
कोठाभित्र मृत अवस्थामा संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई रहेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
बिहीबार गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा दुवै युवक र युवती मृत अवस्थामा भेटिएको प्ररहरीले जनाएको छ ।
मैनालीका अनुसार उनीहरू २०-२२ दिनदेखि सँगै बस्थे । उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो । आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए ।
कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् र त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए । घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पोष्टमार्टमका लागि शव लैजाने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






