ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्लमै मृत्यु
२० पुस, रौतहट । कपिलवस्तुमा आज बिहान ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका ३ रनगाईमा लु४त २४०२ नम्बरको ट्रयाक्टर पल्टिदाँ स्थानीय ४८ वर्षीया शिवकुमारी थारु र १६ वर्षीया फुलकुमारी थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकबाट करिब २० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यका अनुसार तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, दुर्घटनामा परेर बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएको आचार्यले जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






