नक्कली परीक्षार्थी पक्राउ
१८ पुस, रौतहट । परीक्षामा संलग्न दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
अर्काेको नाममा परीक्षा दिँदै गरेको अवस्थामा धनकुटाको सहिदभूमी गाउँपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय सौहार्द राई र बाग्लुङको ढोरपाटन नगरपालिका ६ का १८ वर्षीय निलकुमार अदैँलाई शनिबार हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पुस १७ गते (शनिबार) भएको सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षाबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।
उनी दुवै जना नक्कली परीक्षार्थी प्रमाणित भएका हुन् । पक्राउ परेका दुवै जनामाथि यसबारे आवश्यक आुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






