महोत्तरीबाट लागुऔषधसहित चार जना पक्राउ

   १७ पुष २०७८, शनिबार १२:२२  

१७ पुस, महोत्तरी । महोत्तरीबाट लागुऔषधसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका ६ का २७ वर्षीय शत्रुधन मुखिया, सर्लाहीको लालबन्दी नगरपालिका ४ बस्ने १८ वर्षीय सुरेश मुखिया, १७ वर्षीय विरेन्द्र मुखिया, र बरहथवा नगरपालिका ७ का १४ वर्षीय सुमन श्रेष्ठलाई शुक्रबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

विष्टका अनुसार हिजो गएराति ८ बजेतिर भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपालतर्फ आउदैँ गरेको अवस्थामा औरही नगरपालिका ४ स्थित सडकखण्डमा शंकास्पद अवसथामा रोकी खानतलासी गर्दा नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतलसहित उनीहरुलाई हिरासतमा लिएको हो ।

पक्राउ परेका चारै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।