भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको शव फेला

   १५ पुष २०७८, बिहीबार ११:४३  

१५ पुस, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको शव फेला परेको छ ।

भेरी अस्पतालको क्वाटरमा बसेको कार्यालय सहयोगि कालीकोटको खडाचक्र नगरपालिका वडा नम्बर ६ का धनप्रसाद भट्टराईसहित उनका परिवारका ४ जनाको शव आज बिहान फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार बिहीबार बिहान धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकीला, दिदी नन्दकली र उनका तीन महिनाका छोरा एक्सन भट्टराई मृत अवस्थामा भेटिएका हुन् । भेरी अस्पतालमा धनप्रसाद स्टोर किपरको काम गर्थे । अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा परिवारका सातै जना सुतेका थिए ।

हिजो दिनभरी परेको पानीले चिसो बढेपछि उनको परिवार एउटै कोठामा कोइला बालेर सुतेको थियो । झ्याल पनि बन्द भएकाले उनीहरूको निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, घटनामा धनप्रसादको परिवारका अन्य तीन जना घाइते भएका हुन् ।

धनप्रसादकी श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् भने भाइ नरेन्द्र र तीन वर्षका छोरा विवश अहिले पनि अचेत अवस्थामै रहेको प्रहरीले जनाएको छ ।

उनी तीनै जनाको भेरी अस्पतालमै उपचार भइरहेको घर्तीले जनाएको छ । मृतक चारै जनाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान सुरु भएपनि मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरी निरीक्षक खिमबहादुर घर्तीले बताए ।