कार अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते

   १५ पुष २०७८, बिहीबार ११:१०  

१५ पुस, रौतहट । भक्तपुरमा कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना उपचाररत छन् ।

दुर्घटनामा परेर जनकपुर उपमहानगरपालिका १५ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार मध्यपुरथिमी नगरपालिका ४ चारदोबाटोमा बुधबार राति ८:४५ बजेतिर बा ४ च ५७६ नम्बरको कार अचानक अनियन्त्रित भइ दुर्घटना हुँदा साह गम्भीर घाइते भएका थिए । घाइते भएका साहलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीलृे जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएको कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय सबिन घिसिङ मध्यपुर अस्पताल थिमीमा उपचाररत छन् ।

नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको अवस्थामा हिजो राति सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।