तनाव बढेसंगै ईश्वरपुरमा निषेधाज्ञा जारी

   १३ पुष २०७८, मंगलवार १६:४२  

१३ पुस, रौतहट । प्रहरीको भ्यान गाडीको ठक्करबाट स्थानीय एक व्यवसायीको मृत्यु भएपछि बजारमा तनाव बढेसंगै सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर स्थानीयबासिन्दाले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दे ईलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि आज टायर बालेर प्रदर्शन गरेका थिए । बजारमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ ।

सोमबार गएराति ९ बजेतिर ईश्वरपुर नगरपालिका वडा नम्बर ७ मा प्रहरीको भ्यानले ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका ५ बस्ने रामकुमार महतो गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि सोमबार राति नै मलंगवा अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।

प्रहरीको गाडीको ठक्करबाट महतोको मृत्यु भएको कारण प्रहरीले घटना लुकाएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।