टिपरको ठक्करबाट माओवादी नेताको मृत्यु

   ५ पुष २०७८, सोमबार ११:२२  

५ पुस, रौतहट । टिपरको ठक्करबाट रौतहटमा एक जना माओवादी नेताको मृत्यु भएको छ ।

रौतहटको फतुवा विजयपुर ११ हिमालिबासमा गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति ८:३० बजेतिर तीव्र गतिमा रहेको टिपरको ठक्करबाट बा ३०प ८११५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले जानकारी दिए ।

पोष्टमार्टमका लागि मृतकको शव जिल्ला अस्पताल गौरमा राखिएको छ । तीव्र गतिको कारण चौधरीको मृत्यु भएको भन्दैँ आक्रोशित स्थानीयहरुले निर्माण सेवाको २ वटा टिपर तोडफोड गरेका थिए ।

घटना पश्चात फरार भएका टिपरका चालक भरतलाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताए ।

दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै आज बिहानैदेखि विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।