नक्कली नोटसहित दुई भारतीय पक्राउ

   ४ पुष २०७८, आईतवार १६:०१  

४ पुस, रौतहट । सर्लाहीबाट नक्कली नोटसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नक्कली नोटसहित पक्राउ पर्नेमा भारत बिहारको सितामढीका ३७ वर्षीय आशिष भन्ने (सुरेन्द्र महतो) र प्रमोद कुमार रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार सवारी चेक जाँच गर्ने क्रममा बीआर ३० वाइ ४१३९ नम्बरको मोटसाईकलमा सवार उनीहरुलाई रोकी खानतलासी गर्दा १ हजारको ११५ वटा नेपाली नोट, ४७ हजार ५ सय १० भारतीय रुपैयाँ र १७० नेपाली रुपैयाँ बरामद भएको हो ।

शनिबार बेलुकी ७ः३० बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त रकमसहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।