सवारी दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

   २ पुष २०७८, शुक्रबार १३:४७  

२ पुस, रौतहट । सवारी दुर्घटनामा परेर सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको सवारी दुर्घटनामा परी मृत्यु हुँदा सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन् ।

यी तीनसहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १ बच्चा उपचाररत रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा। तपन दाहालले जानकारी दिए ।

बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।

पोष्टमार्टमका लागि मृतकहरुको शव लहानमै राखिएको छ ।