नक्कली कोरोना रिपोर्ट बनाएको आरोपमा एक जना पक्राउ
१ पुस, रौतहट । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बस्ने पेमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक तामाङलाई कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसहित हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
प्रवक्ता वसन्तका अनुसार तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँ लगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी नक्कली कोरोना रिपोर्ट बनाएको (नेगेटिभ लेखेर) राखिएको आरोपमा फायलसमेत नियन्त्रणमा लिएको छ ।
तामाङले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग एक हजार देखि पाँच हजारसम्म लिएर नेगेटिभ कोरोना रिपोर्ट बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको उनीमाथी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






