ट्याक्टर दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती उपचाररत

   १७ मंसिर २०७८, शुक्रबार १३:१४  

१७ मंसिर, रौतहट । रूकुम पश्चिमको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नम्बर ७ औल नजिक भित्री सडकमा बिहीबार मध्यराति १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ वर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेपालीकी श्रीमती १९ वर्षीया सपना नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग शाहले जानकारी दिए ।

औलबाट आठबिसकोटको राडी बजारतर्फ जाँदै गरेको रा १ प ४४१२ नम्बरको खाली ट्याक्टर सडकमै दुर्घटना हुँदा गम्भीर घाइते भएकी सपनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

हाल दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।