कक्षा १२ को परीक्षाफल सार्वजनिक
१७ मंसिर, रौतहट । कक्षा १२ को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको छ ।
शुक्रबार बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षाफल सिष्टममा अपलोड हुँदैछ, केही समयमा नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न मिल्छ,’ शर्माले बताए ।
कोरोनाको कारण पटक पटक स्थगित हुदै आएको कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक रूपमै विद्यार्थी उपस्थित भएर दिएका थिए ।
७ हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ३ सय ३९ जना रहेको शर्माले जनाए ।
यस्तै, ‘बी प्लस ग्रेड’ ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ ।
करिब एक लाख विद्यार्थीले ‘बी ग्रेड’ मात्रै ल्याएका छन् भने ‘सि’ र ‘डी’ ग्रेड ल्याउने विद्यार्थी पनि छन् । साथै दश हजार हाराहारी विद्यार्थीले ‘ई ग्रेड’ पनि ल्याएका छन् ।






