दाँईगर्न राखिएको धानको भारीमा आगजनी

   १३ मंसिर २०७८, सोमबार १२:०२  

१३ मंसिर, रौतहट । रौतहटको देवाही गोनाहीमा किसानले खलिहानमा राखेको धानको भारीमा अज्ञात समूहले आगजनी गरेका छन् ।

देवाही गोनाही नगरपालिका वडा नम्बर ७ प्रेमपुर गोनाहीका बुधाई राय यादवले दाँई गर्नका लागि ३ बिगहाको धान खलिहानमा राखेका थिए ।

यादवले दाँई गर्न राखेको करिब ६४० वटा धानको भारीमा अज्ञात व्यक्तिले आइतबार राति आगजनी गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

हिजो मध्य रातमा अज्ञात समूहले यादवले राखेको धानको भारी आगजनी गर्दा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । धानको भारीमा चारैतिरबाट एकैचोटी आगो लगाएको कारण धान पूर्णरुपमा जलेर नष्ट भएको छ । यादवले लगाएको ३ बिगहा धानको भारी जलेर नष्ट हुँदा करिब २ लाख ५० हजार भन्दाबढीको क्षती भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही तथा क्षतीपुर्तीको माग गरेका छन् ।

कुनै व्यक्तिगत रिसिवीको कारण यादवको धानमा आगजनी गरेको भन्दैँ घटनाबारे आवश्यक थप अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।