झापामा बस दुर्घटना हुँदा एकको मृत्यु, २२ उपचाररत
१३ मंसिर, रौतहट । झापामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्लाको कनकाई नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा बस दुर्घटना हुँदा सोही नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २२ जनामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






