पूर्वयुवराज पारस शाहको निवासमा चोरी गर्ने आरोपी प्रहरी हिरासतमा
१९ असोज, रौतहट । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पारस शाहले भाडामा लिएको घरबाट सामान चोरेको अभियोगमा एक जनालाई हिरासतमा लिएको महानगरीय प्रहरी परिसर कठमाडौँका प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी गर्ने शिव गौतमलाई काठमाडौंको मित्रनगरबाट पक्राउ गरिएको बस्नेतले जनाए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीलाई सोमबार नै पक्राउ गरेको थियो । चोरिएको सामान आरोपी शिवले पूर्वयुवराजलाई फिर्ता गरेको छ ।
पक्राउ परेका निजमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।






