मेलम्ची सुरूङको ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि
साउन १४, रौतहट । मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ। खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ।
असार ३० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानमा रहेको ढोका नम्बर १७ एक्कासी खुलेपछि आयोजनाका चार जनालाई बगाएको थियो।
सुरूङभित्र पानीको चाप परीक्षण गर्न पुगेका इञ्जिनियर सतिशकुमार गोइतको मृत्यु भएको थियो। चालक राधाकृष्ण थापा मगर अझै बेपत्ता छन्। उनको खोजी जारी छ। घाइते इञ्जिनियर शेखर खनाल र सर्भे सहायक पेम्बा दोर्जे तामाङ उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
यस्तो घटना हुनुमा सुरूङभित्रका ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि देखिएको घटनास्थल पुगेर अध्ययन गरेका प्राविधिक समितिका संयोजक, खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताए।
‘अध्ययन प्रतिवेदन मंगलबार मन्त्रालयका सचिव माधव बेल्वासेलाई बुझाइएको छ,’ दुवाडीले भने, ‘मुख्य गरी ढोकाको नटबोल्ट राम्रोसँग फिटिङ नभएको एउटा पाटो रह्यो। अर्को पक्ष भने ढोका जसरी निर्माण गर्ने पहिलेको डिजाइन हो त्यो योजना परिवर्तन गरेर निर्माण गरेको रहेछ।’
ढोकाको नटबोल्ट राम्रोसँग फिटिङ नहुँदा सुरूङभित्रको पानी चाप थेग्न नसकेर बाहिर निस्केको प्राविधिक अध्ययन समितिको भनाइ छ।
‘ढोकाको डिजाइन हुँदा पानीको प्रेसर थेग्नका लागि र नटबोल्टमा धेरै भार नपर्नका लागि गेटभित्र (सुरूङतर्फ) नै खुल्ने गरी डिजाइन हुनु पर्नेमा त्यो योजना परिवर्तन गरेर ढोका बाहिर खुल्ने गरी डिजाइन र निर्माण गरिएको पाइयो,’ सहसचिव दुवाडीले बताएका हुन् ।






