लागूऔषधसहित महोत्तरीबाट २ जना पक्राउ

   २१ भाद्र २०७८, सोमबार १४:५७  

२१ भदौँ, रौतहट । महोत्तरीबाट लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका ७ बस्ने ३० वर्षीय संजय भट्ट र गोर्खाको बुढीगण्डकी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय अजय परियार रहेका प्रहरीले जनाएको छ ।

सवारी चेक जाँच गर्ने क्रममा आइतबार साँझ सम्सी गाउँपालिका ७ चाँदनी चोकमा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी सशस्त्र प्रहरीले चेक गर्दा लागूऔषध फेला परेको सशस्त्र प्रहरी बल ९ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको छ ।