सिरहाबाट अवैध औषधी बरामद

   १९ भाद्र २०७८, शनिबार १५:२५  

१९ भदौँ, रौतहट । भारतबाट अवैध रुपमा ल्याइएको औषधी सिरहा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट आज बिहानै खटिएको गस्टी टोलीले भन्सार छलेर ल्याएको औषधी बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब २ः१५ बजेतिर नै लहान नगरपालिका १९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटोलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्दा रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले जानकारी दिए ।

दाहालका अनुसार कागजात नभएकाले उक्त औषधी भन्सार छलेर ल्याएको भन्दैँ नियन्त्रणमा लिएको हो । प्रहरी गस्ती देखेपछि, अटो छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेवारिसे अवस्थामा बरामद गरिएको औषधीको मूल्य करिब ७५ लाख ५६ हजार ८ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाए ।