अवैध सम्बन्धका कारण नवजात शिशुको हत्या

   ९ भाद्र २०७८, बुधबार १२:५३  

९ भदौँ, रौतहट । शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँणकी बस्ने ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । घर नजिकै रहेको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा शिशुको घाँटी निमोठेर हत्या गरेपछि, उनका ससुराले प्रहरीलाई खबर गरेका थिए ।

शिशु हत्याको खबर प्राप्त हुनसाथै घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपी आमालाई हिरासतमा लिएको हो । अदातलबाट म्याद थप अनुमति लिई पक्राउ परेकी निजमाथि घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

१० वर्ष पहिला नै वैदेशिक रोजगारमा गएका माधवीका श्रीमान् उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा हुन् ।