गाँजासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

   ८ भाद्र २०७८, मंगलवार १४:११  

८ भदौ, रौतहट । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज एक जनालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा बोकेर कतार जान लागेको चितवन खैरेनी १० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई मंगलबार बिहान विमास्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा निजलाई आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिरासतमा लिएको लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

प्रसाईका अनुसार पाठकको साथबाट आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको फेला परेको थियो । गाँजासहित पक्राउ परेका उनलाई विमानस्थल प्रहरी लागूऔषध नियन्त्रणमा ब्यूरोलाई बुझाएको छ ।