सुनसरीबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ

   ५ भाद्र २०७८, शनिबार ११:२३  

५ भदौँ, रौतहट । सुनसरीबाट नक्कली नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नक्कली नेपाली रुपैयाँसहित पक्राउ पर्नेमा भारत अररिया रामनगरका ३२ वर्षीय सुमन पाल र ४० वर्षीय नबल किशोर पाल रहेका प्रहरीले जनाएको छ ।

देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट शुक्रबार बिहानै प्रहरीले दुवैजनालाई १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सवारी चेक जाँच गर्ने क्रममा बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई रोकी चेक गर्दा उक्त नक्कली रुपैयाँ बरामद भएको प्रहरीले जनाए ।

पक्राउ परेका दुवै जनामाथि गबिारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।