सप्तरीबाट चोरिएको ५ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
३२ साउन, रौतहट । चोरी भएको एउटा मोटरसाइकल खोज्न क्रममा प्रहरी सप्तरीबाट थप ५ वटा चोरीको मोटरसाइकल फेला पारेको छ ।
मोटरसाइकल चोरी गरेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उदयपुरको बेलका नगरपालिका १० बस्ने २२ वर्षीय रामहरि श्रेष्ठ, सप्तरीको कञ्चनरुप नगरपालिका १२ का ३५ वर्षीय पोष्टराज खत्री, सुनसरीको कोशी गाउँपालिका ८ बस्ने २३ वर्षीय मोहम्मद मासुम मियाँ र सोही स्थानका २१ वर्षीय मोहम्मद अकबरलाई नियन्त्रणमा लिएको हो ।
यही साउन २९ गते सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट नै प्रदेश १०५–००४ प ०४८४ नम्बरको मोटरसाइकल चोरी भएको उजुरी परेको थियो । चोरी भएको मोटरसाइकल खोज्ने क्रममा हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहस्थित भलुवा नजिकबाट ती मोटरसाइल श्रेष्ठले चलाएको पाएसंगै उनलाई रोकि सोधपुछ गर्दा थप ५ वटा चोरिएको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठमाथि यसबारे थप अनुसन्धान गर्दा चोरीमा संलग्न भएका उनी तीनै जनालाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताए । प्रहरीका अनुसार फेला परेको मोटरसाइकलहरु उनीहरुले विभिन्न मितिमा चोरी गरेका थिए ।
जिल्ला अदालतबाट म्याद थप अनुमति लिई पक्राउ परेका उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






