सुनील शेट्टी बस्ने भवन सील, यस प्रति उनको प्रतिक्रिया

   २९ असार २०७८, मंगलवार १५:३१  

२९ असार, रौतहट । सेलिब्रिटी सुनील शेट्टी र उनको परिवार बसिरहेको भवनलाई मुम्बइ महानगरपालिकाले सील गरेको छ । उनी बसी रहेको भवनमा डेल्टा भेरियन्ट भेटिएको कारण महानगरपालिकाले भवन सिल गरेका थिए ।

यस प्रति अभिनेता शेट्टीले प्रतिक्रिया दिएका छन् । उक्त भवनमा डेल्टा भेरियन्ट भेटिएको भन्ने खबरलाई सुनिल शेट्टीले गलत बताएका छन् । सुनिलले यसबारे एक ट्वीट गर्दै उनी बसेको भवनमा कुनै डेल्टा भेरियन्ट नभेटिएको बताए । मेरो बिल्डिङ सोसाइटीमा कुनै डेल्टा भेरियन्ट छैन । एउटा मात्रै कोभिड प्लस केस भेटिएको छ र बिरामी क्यान्डी अस्पतालमा भर्ना भएका छन् । अन्य रिपोर्ट नेगेटिभ छ र सेल्फ आइसोलेशनमा छन् ।

अर्को एउटा ट्वीटमा सुनिल शेट्टी लेख्छन्, ‘मेरो भवन सुरक्षित छ र परिवार पनि पूर्ण रुपमा ठिक हुनुहुन्छ । एउटा विंगलाई नोटिस दिइएको छ तर पूरा बिल्डिङ सील गरिएको भने होइन । गलत रिपोर्ट दिइएको हो । मेरी आमा, श्रीमती माना, छोरा अहान, छोरी आथिया र मेरा कर्मचारीका साथै पूरा बिल्डिङ ठिक छ र तपाईंहरुको शुभकामनाका लागि धन्यवाद । माफ गर्नुहोस् साथीहरु, कुनै डेल्टा भेरियन्ट छैन । ’

स्मरण रहोस्, हालै मुम्बई महानगरपालिकाका सहायक आयुक्त प्रशान्त गायकवाडले सुनिल शेट्टीको बिल्डिङ सील गरिएको बताएका थिए । उनका अनुसार दक्षिण मुम्बईको अल्टामाउन्ट रोडस्थित पृथ्वी अपार्टमेन्टलाई सील गरिएको छ । साथै उनले अभिनेताको पूरा परिवार सुरक्षित भएको पनि स्पष्ट जानकारी दिए । सुनिल शेट्टीको घर साउथ मुम्बईको अल्टामाउन्ट रोडस्थित पृथ्वी अपार्टमेन्टमा छ ।