मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक युवकको मृत्यु

   ८ भाद्र २०७९, बुधबार १२:३०  

८ भदौँ, महोत्तरी । बर्दिबास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडामा मंगलबार मध्यराति १२ बजेतिर मोटरसाईकलाको ठक्करबाट स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी गम्भीर घाइते भएका थिए ।

औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल ललितपुरमा ल्याएपनि उपचारकै क्रममा आज बिहान ८:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका १ का २४ वर्षीय अशोक राउत पक्राउ परेका छन् ।
पक्राउ परेका उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

यस्तै, घटनामा संलग्न रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।