रामदेवलाई पक्राउ गर्न भारतीय चिकित्सकहरुको माग
१५ जेठ, रौतहट । पतन्जलीका सँस्थापक तथा योगगुरु रामदेवलाई तत्काल पक्राउ गरेर कारवाही गर्न भारतीय चिकित्सकहरुले माँग गरेका छन ।
कोरोना भाइरसको बारेमा भ्रम फैलाएको र चिकित्सकहरुको अपमान गरेको भन्दै उनलाई पक्राउ गर्न माग गर्न माग गरिएको हो । रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण भारतमा चिकित्सकहरु रुष्ट बनेका छन ।
भारतका चिकित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महामारीको बीचमा ‘संवेदनहीन’ अभिव्यक्ति दिएको भन्दै रामदेवको आलोचना गरेको छ ।
रामदेवले एक बयानमा कोरोना संक्रमितको मृत्यु भारतीय चिकित्सकहरु र आधुनिक औषधीको कारण भएको बताएका थिए । वातावरणमै पर्याप्त अक्सीजन हुने भएपनि उनले चिकित्सकहरुले अक्सीजनका लागी मानिसहरुलाई त्रशित बनाएको भन्दै अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाएका थिए ।
रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको बताएका थिए । उनले आधुनिक उपचार पद्धतिको अभ्यास गरेर कोरोनाको महामारीमा तामासा गरिएको बताएका थिए ।
योगगुरु रहेका रामदेवले आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रो व्यवसाय चलाइरहेका छन् । कोरोनाको पहिलो चरणकै बेला आफूले कोरोनिल भन्ने औषधी तयार पारेको बताएका रामदेवको सो औषधीले अझै सम्म पनि मान्यता पाएको छैन । धर्म र योगलाई जोडेर आफ्ना उत्पादनहरुको प्रवर्दन गर्ने रामदेव र उनका सहयोगी बालकृष्ण पनि बिरामी पर्दा अस्पताल भर्ना भएर एलोपैथिक विधिबाटै स्वस्थ्य भएका थिए ।
रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउको चर्को दबाब आएसँगै रामदेवले आफूलाई पक्राउ गर्न सरकारलाई नै चुनौती दिएका थिए । उनले एक भिडियोमा भनेका छन्, ‘पक्राउ त स्वामी रामदेवलाई तिनीहरुको बाबुले पनि गर्न सक्दैनन् । तर, हल्ला गरिरहेका छन् कि छिटै रामदेवलाई पक्राउ गर ।”






