विश्वभर ३२ लाखभन्दा धेरैकाे मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ बन्दै भारत

   १९ बैशाख २०७८, आईतवार ०८:१९  

१९ वैशाख, राैतहट । विश्वभर कोरोना भाइरसले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ ।

बितेकाे २४ घण्टामा १२ हजार ५ सय ५१ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख ५ हजार ७ सय ८६ पुगेकाे छ ।

विश्वभरमा कोभिड-१९ ले सबैभन्दा बढी संयुक्त राज्य अमेरिकालाई प्रभावित पारेको छ । हालसम्म अमेरिकामा ५ लाख ९० हजार ७ सय ४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ ।

मृतक र संक्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । दाेश्राे लहरकाे हटस्पट बन्दै गएकाे भारत हरेक दिन नयाँ संक्रमित रेर्कड बनाउदै छ ।

भारतमा पहिलो पटक शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ । एकैदिन त्यहाँ ३ लाख ९२ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।

हनलसम्म भारतमा १ करोड ५९ लाख ८१ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ छ ।