भारतबाट नेपाल फर्किएका १० प्रतिशतमा देखियो कोरोना
२९ चैत, रौतहट । सुदूरपश्चिम नाका हुदै भारतबाट नेपाल फर्किएहरुको परीक्षण मध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिनुभयो ।
सबैको परीक्षण जनशक्ति र अरू व्यवस्थापकीय अभावका कारण सम्भव नभएको पनि उहाँले बताउनुभयो । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउदले बताउनुभयो ।
भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण विनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था फेरि आएको समेत बताउनुभयो । अहिले भारतमा सङ्क्रमण दर बढी देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।
भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।
सुदूरपश्चिमसँगै देशका अरू नाकाबाट फर्कनेहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ । शनिवार (हिजो) देशभरिकै कुल परीक्षणमा पनि झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारी जटिल अवस्थामा पुगेको मानिन्छ ।






