कोरोना विरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई उपलब्ध गराउने; प्रधानमन्त्री ओली

   १४ माघ २०७७, बुधबार १२:३४  

 

१४ माघ, रौतहट । तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सरकारी निवास बालुवाटारमा आज भर्चुअल विधिबाट कोरोनाविरुद्ध खोपको शुभारम्भ गर्दै ओलीले भने अबको तीन महिना भित्र सबै नेपालीलाई खोप लगाइसकिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने तीन महिनाभित्र सम्पूर्ण सबै नेपालीलाई निशुल्क र भेदभावबिना कोरोना खोप उपलब्ध गराइने छ । उनले भने, चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं । जस्तो यसपल्ट प्राप्त गरेका छौं । चाहे हामीले किन्न परोस् ।

माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् । उनले सबै नेपाली नागरिकलाई यो खोप निशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन् ।

बुधबारबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिँदैछ ।

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ ।