नेपाल पनि भलिबल च्याम्पियनसिपमा भाग लिने सम्भावना
३ पुस, रौतहट । नेपाल भलिबल संघले गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी गराउनका लागि प्रक्रिया अघि बढाउने भएको छ ।
संघको यो प्रक्रिया सफल भए नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा भाग लिनेछ । नेपाल भलिबल संघको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो । ‘पछिल्लो वर्ष हामीले महिला भलिबलमा राम्रो प्रदर्शन गरेका छौं’, अध्यक्ष मनोरञ्जन शर्माले भने भने, ‘अब दक्षिण एसियालीभन्दा माथिल्लो स्तरमा पनि सहभागी गराउनु पर्दछ भन्ने उद्देश्यका साथ महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेका हौं ।
संघले निर्णय गरे पनि अब युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जानकारी गराएर प्रशिक्षणको तयारी गरिने शर्माले जानकारी दिए । च्याम्पियनसिप अगस्ट २९ सेप्टेम्बर ५ सम्म चीनको जियाङमेनमा हुनेछ । त्यसका लागि अर्को महिनासम्म टोली दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । १६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । चीन उक्त प्रतियोगितामा चौथो भएको थियो ।
आयोजकले स्वतः च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाँउमा हङकङलाई समावेश गरिएको जनाइएको छ । साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अस्ट्रेलिया शीर्ष १० मा रहेको थिए । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन् । नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् ।
अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन् । सहभागी हुन चहाने टोलीमा एक मात्र भएको खण्डमा नेपाल सिधै छनोट हुनेछ । एकभन्दा बढी टोलीले सहभागिताका लागि नाम दर्ता गराएमा नेपालले छनोट प्रतियोगिता खेल्नुपर्नेछ । पछिल्लोपटक सहभागिता जनाएको श्रीलंका नेपालमाथि वरीयतामा माथि छ । त्यसैले, छनोट प्रतियोगिता हुने सम्भावना बढी छ ।
एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन, वेस्ट जोन, साउथ इस्ट जोन र ओसियाना जोन रहेको छ । नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । लगत्तै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजतपदक जितेको थियो । सागमा सेमिफाइनलमा श्रीलंकालाई हराएको नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।