अक्षय कुमारले धडाधड फिल्म खेलेकोमा प्रशंसा हुँदा अभिषेकले जनाए आपत्ति
२ पुस, रौतहट ।
फिल्म प्रदर्शक अक्षय राठीले सामाजिक सञ्जाल ट्विटरमा अक्षय कुमारको यो जाँगरको खुलेर प्रशंसा गरेका छन् । अक्षयले छिटोछिटो शूटिङ सक्ने गरेको कुरालाई उनले प्रशंसा गरेका हुन् ।
उनले लेखे, ‘अक्षय कुमारले एउटा फिल्म खेलेर सक्दा अन्य कलाकारले केही क्षमता मात्र सिक्न सकेका हुन्छन् । अक्षयका फिल्महरू बढी हिट पनि हुन्छन् । अन्य स्टारहरूले अझै राम्रो काम देखाउनुपर्ने हुन्छ । उनीहरूले राम्रो योजना बनाउनुपर्छ ।’
अभिषेक बच्चनले यस ट्वीटमा आपत्ति जनाउँदै कुनै एक कलाकारलाई प्रशंसा गर्दा अरूलाई झूर देखाउन खोज्नु गलत भएको बताए ।
उनले लेखे, ‘यो सही हैन । प्रत्येक मानिस फरक फरक कुराले मोटिभेट हुन्छ । सबैको काम गर्ने आआफ्नै स्पीड हुन्छ ।’
त्यसमा राठीले कोरोनाकालमा सकेसम्म धेरै फिल्म रिलीज हुनुपर्ने भनी तर्क राखे । अभिषेकले चाहिँ धेर फिल्म खेलेर केही हुन्न, राम्रो फिल्म खेल्नुपर्ने भनाइ राखे । कोरोनाको मुश्किल समयमा कमजोर कन्टेन्ट भएका फिल्म देखाएमा दर्शकहरू भड्किन सक्ने र गुणस्तरमा नै फोकस गरेर अघि बढ्नुपर्ने बताए । एजेन्सी