अक्षय कुमारको ‘लक्ष्मी’ असफल भएपछि, पारिश्रमिक घट्यो
२८ मंसिर, रौतहट ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ असफल भएको छ।
कोरोना महामारीकाबीच डिजिटल प्लेटफर्ममा रिलिज गरिएको उक्त चलचित्र फ्लप भएपछि त्यसको प्रत्यक्ष असर अक्षयलाई परेको छ। उनले आगामी चलचित्रका लागि आफ्नो पारिश्रमिक घटाएका छन्।
उनी अब नयाँ चलचित्र ‘बच्चन पाण्डे’ मा काम गर्दैछन्। त्यसका लागि निर्माता साजिद नाडियाडवाला र अक्षयबीच सम्झौता भएको छ। यसअघि गरिएको सम्झौतामा हेरफेर गर्दै पारिश्रमिक घटाउँदै अर्को सम्झौता गरिएको हो।
साजिदले जी समूहसँग मिलेर सात वटा चलचित्र निर्माण गरिरहेका छन्। जी समूहले साजिदसँग थुप्रै सर्तमा डिल गरेको छ। साजिदले पनि जी समूहले गरेको सर्त बमोजिम नै अक्षयसँग सम्झौता गरेका हुन्। र, अब अक्षयसँग यसअघि तय गरिएको पारिश्रमिक घट्नेछ।
उनले कम्तीमा १०० करोड भारु पारिश्रमिक लिने गरेका छन्। त्यसमा चलचित्र हेरेर पारिश्रमिक घटबढ हुन्छ। ‘लक्ष्मी’ का लागि उनले १२० करोड पारिश्रमिक लिएका थिए।