कमिसन रकम उठाउन बाँकी भएपछि सरुवा भएर पनि इन्जिनियर कार्यालयमै

   १० चैत्र २०८२, मंगलवार १२:२९  

१० चैत, रौतहट । रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर रामबाबु साह सरुवा भइसकेपछि पनि हालसम्म नयाँ कार्यस्थलमा हाजिर नभएको पाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई जिल्ला समन्वय समिति खोटाङमा सरुवा गरेको भए पनि उनले रमाना नलिई गौरकै कार्यालयमा काम गरिरहेको स्रोतले जनाएको छ। सुरुमा निर्वाचन आचारसंहितालाई कारण देखाउँदै कार्यालय नछाडेका साहले निर्वाचन सम्पन्न भइसकेपछि पनि विभिन्न बहाना बनाउँदै सरुवा कार्यान्वयन नगरेको आरोप लागेको छ।

स्रोतका अनुसार चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका मदन भण्डारी आवास योजना र जनता आवास योजनाको भुक्तानी तथा कथित कमिसन रकम उठाउने उद्देश्यले उनले कार्यालय नछाडेको दाबी गरिएको छ। अधुरा संरचनाहरूको समेत अनुगमनबिना भुक्तानी भइरहेको आरोपसमेत सार्वजनिक भएको छ।

यस विषयमा सम्बन्धित कार्यालय र निकायहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन। कानुनअनुसार सरुवा भएका कर्मचारीले तोकिएको समयभित्र नयाँ कार्यालयमा हाजिर हुनुपर्ने नियम उल्लंघन गरेमा विभागीय कारबाहीको व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ।