बागमती नदीमा डुबेका स्याङतान ३ दिनपछि मृत फेला

   १० चैत्र २०८२, मंगलवार १२:०७  

१० चैत्र, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।

सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान चैत ७ गते बिहान करिब साढे १० बजेतिर नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे उनका भतिजो कान्छा लामाले प्रहरीलाई जानकारी गराएपछि तत्काल खोजी कार्य सुरु गरिएको थियो।

प्रहरी चौकी पौराईबाट सुरु गरिएको खोजी अभियानमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, इलाका प्रहरी कार्यालय कर्मैया (सर्लाही), सशस्त्र प्रहरी बल तथा चपुरस्थित नेपाली सेनाको टोली संयुक्त रूपमा परिचालन गरिएको थियो। टोलीले चैत ८ र ९ गतेसमेत डुंगा प्रयोग गरी नदी क्षेत्रमा निरन्तर खोजतलास जारी राखेको थियो।

खोजीकै क्रममा आज बिहान करिब साढे ७ बजे नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीमा स्याङतानको शव पानीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव संयुक्त टोलीले नदीबाट बाहिर निकाली चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।