रामेछाप बस दुर्घटना : ६ जनाको मृत्यु, उद्धार कार्य जारी

   २८ माघ २०८२, मंगलवार १४:३१  

२७ माघ, काठमाडौं । रामेछाप जिल्लामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका–५ मसानटारमा मंगलबार बिहान बस नदीमा खस्दा दुई पुरुष र चार महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार दुर्घटनामा परेका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

बस नदीमा खसेकाले यात्रु संख्या यकिन हुन नसकेको जिल्ला प्रशासनले जनाएको छ। घटनास्थलमा डुंगा र गोताखोरको सहयोगमा उद्धार कार्य तीव्र पारिएको छ।

०३०१–०००५ ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकाय उद्धार कार्यमा खटिएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते तथा सम्भावित यात्रुको खोजीका लागि १० सदस्यीय गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।