रास्वपा उम्मेदवारको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

   २३ माघ २०८२, बिहीबार १७:३५  

२२ माघ, रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलस्थित मस्जिद नजिकै कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको ज्यान गएको छ।

रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो ।

चुनाब प्रचारका क्रममा उम्मेदवार आलम चढेको बा१५च ४२४४ नम्बरको कारले नाबालिकालाई ठक्कर दिएको थियो ।

स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुन घर नजिकै खेलिरहेको अवस्थामा सो कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई कार चालकले सोही कारमार्फत उपचारका लागि सिटी अस्पताल गौर पुर्‍याएका थिए।
अस्पतालमा प्रारम्भिक उपचार गराएपछि चालकले घाइते बालिकालाई अस्पतालमै छोडेर फरार भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

प्रहरीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएकोमा उपचारकै क्रममा दिउँसो करिब २:४५ बजे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमै रहेको छ भने दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ। फरार रहेका कार चालकको खोजतलास भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदिप बस्यालले बताए ।