रौतहट १ मा हाइभोल्टेज लडाई, सहज छैन नेपाललाई

   २७ माघ २०८२, सोमबार १६:१६  

२६ माघ, रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगातार निर्वाचित हुँदै आएको रौतहट–१ मा यसपल्ट कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो चुनाव जितेका नेपालले यसपालि थप तीन प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ । हालसालै नेपाली कांग्रेस प्रवेश गरी चुनावी मैदानमा खडा भएका अनिलकुमार झा, एमालेका अजय गुप्ता र रासपाका राजेश चौधरी चुनौती बनेका छन ।

नेपालले यस अघिको निर्वाचनमा ३३ हजार ५ सय २२ मत पाएका थिए । नेपाली कांग्रेससँगको गठबन्धनका कारण हाल मधेशका मुख्यमन्त्री रहेका कृष्ण यादवले नेपाललाई सघाए पछि राम्रै मत पाएका थिए । त्यसबेला प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत पाएका थिए ।

निकटत प्रतिद्धन्दी रहेका अजय गुप्ता यस पटक पनी नेपाल विरुद्ध चुनावी मैदानमा छन । चुनाव हारेर पनि जनताको बिचमै समय बिताएका गुप्तालाई यस पटक सहानुभूति मत पाउने आश छ । आफु निर्वाचन हार्दा पनि जनताका सुखदुखमा साथ दिएको भन्दै ३० वर्ष देखी गरेको सेवाको ज्याला माग्दै गुप्ता चुनावमा होमिएका छन ।

मधेशकेन्द्रित दलबाट लामो समय राजनिति गरेका अनिलकुमार झा यस पटक कांग्रेसको टिकटमा चुनावी मैदानमा छन । अन्य दलबाट आएको व्यक्तिलाई काग्रेंसले मत दिन्छ कि दिदैन भन्ने चुनौतीलाई झाले निवारण गर्नुपर्ने छ । झालाई जातीय मतको समर्थन रहने कतिपयको बुझाइ छ ।

२०७४ को चुनावअघि मधेसकेन्द्रित छ वटा पार्टीबीचको एकतामा राष्ट्रिय जनता पार्टी राजपा बनेको थियो । उक्त पार्टीबाट २०७४ मा अनिलकुमार झा निर्वाचित भएका थिए । त्यतीबेला नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेता झाका प्रतिद्वन्द्वी थिए ।

बालेनलाई प्रधान्मन्त्री घोषणा गरेर अगाडि बढि रहेको रासपाले यस क्षेत्रमा राजेश चौधरीलाई उम्मेदवार बनाएको छ । जेनीजी आन्दोलन पछिको माहोलमा चौधरीलाई परिवर्तन चाहने समुह र युवा वर्गले मत दिने आश रहेको छ । बालेनकै पोष्टरहरुको प्रयोग गर्दै रासपाले स्थानिय उम्मेदवारका लागी मत बटुल्ने प्रयास गरिरहेको छ । पुराना नेताहरुबाट आजित भएकाहरु परिवर्तनका लागी एकजुट हुने चौधरीको बुझाइ छ ।

जनता समाजवादी पार्टी, नेपालका उमेदवार योगेन्द्रराय यादव पनि अर्का प्रतिस्पर्धीका रूपमा खडा भएका छन । मधेशकेन्द्रित दलको विद्यार्थी नेताकै रूपमा राजनीति सुरु गरेका थिए यादवले जातिय मत प्राप्त गर्दै प्रतिस्पर्धा बढाउने सम्झावना समेत रहेको छ । यादव मधेश प्रदेशसभामा राज्यमन्त्रीका रूपमा रहेर काम गरिसकेका व्यक्ति हुन ।

जेनजी आन्दोलन पछिको अवश्था र पटक पटक यस क्षेत्रबाट जितेर जाँदा पनि रौतहट शिक्षाको सूचाङ्कमा ७७ औं स्थानमा रहनुले पनि यस अघिका प्रतिनिधि सभा सदस्यहरु प्रति स्थानियको वितृष्णा देखिएको छ । सधै भरी एकै व्यक्तिको वरिपरिमा राजनितिक नेतृत्व घुमिरहनु भन्दा यस पटक परिवर्तनको चाहना पनि माधव नेपाललाई अघिल्ला जितहरु जस्तो सहज नहुने स्थानिय बताउछन ।

नेकपा एमालेबाट विद्रोह गरेर छुट्टै पार्टी बनाएका नेपाल अहिले नेपाली कम्यूनिष्ट पार्टीमा समाजवादीलाई विलय गराएर सहसंयोजक बनेका छन । यस अघि नै अन्तीम पटक चुनाव लडदैछु भनेर मत मागेका नेपालले फेरी पनि आफूलाई उम्मेदवार बनाएका छन । पछिल्लो निर्वाचनमा नेपाललाई सघाएको काग्रेंसले आफ्नै उम्मेदवार उठाएपछि उनी सकसमा छन ।

१ मा एक लाख आठ हजार ७२६ मतदाता रहेको रौतहटको क्षेत्र नं. १ मा १८ दल र २१ स्वतन्त्र गरी ३९ जना प्रतिनिधि सभा सदस्य पदका लागी प्रतिस्पर्धारत छन् ।

रौतहटमा राप्रपाले मदन साह, जनमतले देवेन्द्र मिश्र, नेपाल मजदुर किसान पार्टीले वैद्यनाथप्रसाद चौधरीलाई उमेदवार बनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले राजाराम मुखिया, जय मातृभूमि पार्टीले रञ्जित कुमार पटेललाई चुनावी प्रतिष्पर्धामा उतारेको छ । सार्वभौम नागरिक पार्टीको तर्फबाट सुनिलप्रसाद कुसवाहा, उज्यालो नेपाल पार्टीले उमेशकुमार साह, नेपाली जनता दलले संजयकुमार यादव, नेपाल संघीय समाजवादी पार्टीले जाजुल देवान चुनावी मैदानमा छन् ।

त्यसअतिरिक्त राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट मो. तनवीर अख्तर मिकरानी, राष्ट्र निर्माण दल नेपालले प्रभाकुमारी सिंह, आम जनता पार्टीले त्रिभुवन साह, जनअधिकार पार्टीका तर्फबाट संजयकुमार यादव उमेदवार छन ।