जेसिकालाई ओर्का (किलर ह्वेल) ले मारेको दाबी सहितको भिडिओ ‘फेक’

   २७ श्रावण २०८२, सोमबार १५:१५  

२६ साउन, रौतहट । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एक समुद्री प्रशिक्षक जेसिका र्‍याडक्लिफलाई ओर्का (किलर ह्वेल) ले मारेको दाबीसहितका भिडिओ भाइरल भइरहेका छन् । विश्वव्यापी रूपमा अर्बौं पटक हेरिएका यी भिडिओ डिजिटल साक्षरता कम भएका देशमा बढी चर्चित छन् ।

भाइरल भएका विभिन्न फुटेजमा एक प्रत्यक्ष कार्यक्रमका दौरान ह्वेलले एक महिलामाथि आक्रमण गरेको देखिन्छ । तर, विभिन्न सञ्चार माध्यमले गरेको तथ्य-जाँचबाट यो घटना कहिल्यै नभएको र भिडिओ पूर्ण रूपमा बनावटी भएको पुष्टि भएको छ ।

यतिसम्म कि जेसिका र्‍याडक्लिफ नाम गरेकी कुनै प्रशिक्षकको अस्तित्व रहेको कुनै आधिकारिक रेकर्ड, समाचार वा विश्वसनीय स्रोत फेला परेको छैन । विशेषज्ञले यो भिडिओ एआई प्रविधिको प्रयोग गरी बनाइएको झुटो सामग्री भएको बताएका छन् । यस घटनाले भ्रामक तथा मिथ्या सूचना अनलाइनमा कति छिटो फैलिन सक्छ र एकपटक भाइरल भएपछि त्यसलाई सच्याउन कति गाह्रो हुन्छ भन्ने देखाएको छ ।

प्रशिक्षक वा आक्रमणको कुनै रेकर्ड छैन

भाइरल भिडिओको केन्द्रमा रहेको कथा अनुसार र्‍याडक्लिफलाई दर्शककै अगाडि ओर्काले आक्रमण गरेको थियो । तर, ‘भोकल मिडिया’ लगायतका तथ्य-जाँच गर्ने संस्थाले समुद्री पार्कको इम्प्लोई रेकर्ड, सार्वजनिक डेटाबेस वा कुनै पनि समाचारमा र्‍याडक्लिफको नाम फेला पारेनन् । समुद्री सुरक्षा रिपोर्टमा पनि यस्तो कुनै घटना उल्लेख छैन ।

भिडिओको विश्लेषण गरेका विज्ञहरूले यसमा एआई-सिर्जित अडियो र असम्बन्धित पुराना फुटेज जोडिएको पत्ता लगाएका छन् । ‘द स्टार’ पत्रिकाका अनुसार केही भिडिओमा पानीमा महिनावारीको रगतका कारण ह्वेल उत्तेजित भएको जस्ता अवैज्ञानिक र अप्रमाणित विवरण थपेर घटनालाई थप सनसनीपूर्ण बनाउने प्रयास गरेका थिए । विज्ञका अनुसार यस्ता भावनात्मक विवरण थपेर मानिसलाई भ्रामक सामग्री शेयर गर्न प्रोत्साहित गरिन्छ ।

यो झुटो कथालाई विश्वसनीय देखाउन विगतमा भएका वास्तविक घटनाबाट केही अंश मिसाइएको देखिन्छ । सन् २०१० मा फ्लोरिडाको सीवर्ल्डमा प्रशिक्षक डन ब्रान्चोको ओर्कासँगको भिडन्तमा मृत्यु भएको थियो । त्यस्तै सन् २००९ मा स्पेनको टेनेरिफस्थित एक समुद्री पार्कमा प्रशिक्षक एलेक्सिस मार्टिनेज मारिएका थिए । यी दुवै घटना व्यापक रूपमा रिपोर्ट गरिएका थिए र ‘ब्ल्याकफिस’ जस्ता डकुमेन्ट्रीमा पनि देखाइएको थियो ।

विभिन्न अध्ययनले देखाए अनुसार मिथ्या समाचारले प्रायः वास्तविक घटना वा स्रोतबाट अंश लिएर आफूलाई विश्वसनीय देखाउने प्रयास गर्छन् । यसले समुद्री जनावरको व्यवहारबारे जनमानसमा गलत सूचना फैलाउने, जनावरलाई बन्दी बनाउने विषयमाथिको बहसलाई कमजोर पार्ने र वास्तविक पीडितका परिवारलाई अनावश्यक पीडा दिने जोखिम बढाउँछ ।

सामाजिक सञ्जाल कम्पनीले यस्ता झुट र एआई-सिर्जित सामग्रीलाई रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् ।

नेपालका सन्दर्भमा पनि तिनै भिडिओ शेयर गर्दै प्रयोगकर्ताले थप भ्रम छरेको देखिन्छ । खासगरी टिकटक भिडिओ, फेसबुक तथा इन्स्टाग्राम रिल्समा पनि यी क्लिप पुनः अपलोड गरेका छन् । सञ्चार माध्यम दाबी गर्ने केही फेसबुक पेजले भिडिओ समेत तयार पारेका छन् ।

यही भारइरल भिडिओलाई लिएर तथ्य-जाँचकर्ताले एआई-निर्मित सामग्रीमा स्पष्ट लेबल लगाउन र छिटो कारबाही गर्न माग गरिरहेका छन् । प्रयोगकर्ताले अञ्जानमा वा जानजान यस्ता एआई सिर्जित भ्रामक सामग्री एआई लेबल बिनै शेयर गरेको पाए त्यसलाई तत्काल लेबल लगाउने व्यवस्था मिलाउन आवाज उठाइरहेका छन् ।