उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायो
२० साउन उत्तराखण्ड । भारत – उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा मंगलबार दिउँसो १:४५ बजे आएको भीषण बाढीले खीरगंगा नामक गाउँलाई पूर्ण रूपमा बगाएको छ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्कर ले भारतीय सुरक्षा अधिकारीहरूको उद्धरण गर्दै जनाएको छ कि घटनामा हालसम्म ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता छन्। घटनास्थलका धेरै भिडिओ र तस्बिरहरू सार्वजनिक भइरहेका छन्, जसमा बाढीको त्रासद क्षति स्पष्ट देखिन्छ।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याका अनुसार धेरै मानिसहरू बगेको आशंका गरिएको छ। प्रभावित धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटरको दूरीमा पर्छ।
बाढीले धराली बजार पूर्ण रूपमा ध्वस्त बनाएको छ। धेरै होटल, पसल र संरचनाहरू बगेका वा भत्किएका छन्। स्थानीयका अनुसार पानीको ठूलो भेल देखेपछि मानिसहरू भागाभाग र चिच्याउँदै भाग्न थालेका थिए।
बाढीपछिको उद्धार कार्यमा सेना समेत परिचालित गरिएको छ। हाल उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ।
धेरै दिनदेखिको निरन्तर वर्षाले गर्दा उक्त क्षेत्रको नदीहरूमा जलस्तर बढेको र बाढीको जोखिम अत्यधिक बढेको थियो। पछिल्लो २ दिनदेखिको भारी वर्षाले विपद् निम्त्याएको अधिकारीहरूले जनाएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढी प्रभावित क्षेत्रको अवस्थामाथि निगरानी राखिरहेको र पीडितको सहयोगका लागि सरकारले सबै प्रयास गरिरहेको बताएका छन्।






