लाहोरमा भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी

२५ वैशाख, काठमाडौं । पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।
उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ ।
यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा)नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।
गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ ।
स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।
उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।
ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।
पञ्जाबको चकवाल जिल्लामा एउटा ड्रोन खेतमा ठोक्किएर खसेको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी प्रमुख गुलाम मोहिउद्दीनले उक्त ड्रोन कसको भन्ने उल्लेख गरेनन् । अधिकारीहरूले ड्रोनको अवशेष सुरक्षित रहेको र यसको उत्पत्ति र उद्देश्यका बारेमा अनुसन्धान गरिरहेको बताए ।
भारतले बुधबारको आक्रमण नौ आतंकवादी आधार क्षेत्रमा गरिएको दाबी गरेको छ । तीमध्येका केही स्थान पञ्जाब प्रदेशमा पर्छन् । र, हमलामा धेरैजसो मृत्यु यही प्रदेशमा भएको थियो ।