कमेडियन भारतीलाई लागुऔषध सप्लाई गर्ने ड्रग पैडलर पक्राउ
१२ मंसिर, रौतहट ।
भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया अनुसन्धानमा तानिएसँगै बलिउड ड्रग्स नेक्सस नयाँ मोडमा पुगेको छ ।
फिल्म उद्योगभित्र लागुऔषधको नेटवर्क कसरी फैलिएको छ, कसरी सप्लाई हुन्छ भन्ने तथ्य समेत बाहिर आएको छ ।
कमेडियन भारती दम्पत्तीलाई केही दिनअघि घरमा गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले गिरफ्तार गरेको थियो। यद्यपि उनीहरु जमानतमा रिहा भइसकेका छन् । छानविन भने जारी नै रहेको छ ।
छानविनका क्रममा एनसीबीले भारती दम्पत्तीलाई लागुऔषध सप्लाई गर्ने एक ड्रग पैडलरलाई नियन्त्रणमा लिएको छ । आजतकका अनुसार मुम्बईमा बुधवार रात सुनील गवाई नाम गरेका ड्रग पैडलरलाई गिरफ्तार गरेर एक किलोभन्दा बढी ड्रग्स समेत बरामद गरिएको छ । सुनीलले आफ्नो वयानमा डेलिभरी ब्वाय बनेर सबै प्रयोगकर्तालाई ड्रग्स सप्लाई गर्ने गरेको उल्लेख गरेका छन् ।
आफू प्रहरीबाट बच्न हरेक पटक फुड डेलिभरी ब्वाय बन्ने गरेको उनले खुलाएका छन् । आफूले भारती सिंहका लागि पनि यसरी नै ड्रग्स सप्लाई गर्ने गरेको उनले बताएका छन् । आफ्नो नेटवर्क पश्चिमी मुम्बईमा बढी सक्रिय रहेको र प्रयोगकर्ता पनि त्यसै इलाकामा धेरै रहेको पनि जानकारी वयानमा दिएका छन् ।
एनसीबीले भारती दम्पत्ती र पक्राउ परेका ड्रग्स सप्लायरमाथि छानविन जारी राखेको छ ।