ड्रग्स प्रकरणको अनुसन्धानमा कमेडियन भारतीका पति हर्ष पनि गिरफ्तार
७ मंसिर, रौतहट ।
बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले कमेडियन भारती सिंहपछि उनका पति हर्ष लिम्बाचियालाई समेत हिरासतमा लिएको छ । हर्षसँग १५ घण्टासम्म बयान लिएपछि उनलाई पनि हिरासतमा लिएको हो ।
बयानका क्रममा हर्षले पनि गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् । यस अघि भारतीले पनि गाँजा सेवन गरेको स्वीकार गरेपछि एनसीबीले उनलाई पहिला हिरासतमा लिएको थियो । शनिबार उनको कार्यलय र घरमा छापा मार्दा गाजा बरामद भएको थियो ।
एनसीबीले भारती र उनका पति हर्षलाई आज अदालतमा पेश गर्दै छ ।
एनसीबीले भारती र उनका पति हर्षका म्यानेजर र ड्राइभरसँग समेत बयान लिएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुले ड्रग्स किन्ने ठाउको समेत पत्ता लागेको बताइएको छ ।
एनसीबीले भारती र हर्षको घरबाट ८६।५ ग्राम गाँजा बरामद गरेको जानकारी दिदै उनीहरुलाई मादक पदार्थ सेवनसम्बन्धि कानुन अन्तर्गत हिरासतमा लिएको बताएको छ ।
बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ । यस अघि एनसीबीले अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ ।
एनसीबीले निशाना बनाएका मुम्बई र गोवामा रहेका सेलिब्रेटी बस्ने होटल र उनीहरुका निजी फार्म हाउसमा गरिएको छापा मारीमा अहिलेसम्म ड्रग्स नभेटिएको बताइएको छ ।
एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।
के छ सजायको कानुनी व्यवस्था
भारती र हर्षको घरबाट बरामद भएको गाँजाको मात्र कम भएकोले सजायको व्यवस्था कम रहेको छ । भारतको कानुन अनुसार एक हजार ग्राम भन्दा कम गाँजा सम्म छ महिनाको जेल सजाय या १० हजार जरिवाना तथा दुवै सजाय समेत हुनसक्छ । त्यस्तै २० किलो भन्दा बढी गाँजा राखेको पाइएमा २० बर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ । यसको बीचको मात्रामा १० बर्षको जेल सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।