सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा अल्जेरिया छनोट

   २ मंसिर २०७७, मंगलवार ११:३०  

२ मंसिर, रौतहट । सन् २०२२ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्समा साविक विजेता अल्जेरिया छनोट भएको छ ।

गएराति भएको खेलमा जिम्बावेसँग २–२ गोलको बराबरीमा रोकिएपनि अल्जेरिया अफ्रिका कप अफ नेसन्समा छनोट भएको हो । जिम्बावेको मैदानमा एन्डी डेलोर्टले ३३ औं मिनेटमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा रियाद महरेजले गोल गर्दा अल्जेरिया २–० ले अघि रह्यो । तर, खेलको ४५ औं मिनेटमा नलेज मुसोनाले गोल गर्दै जिम्बावेलाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बावेलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका हुन् ।

जिम्बावेसँग बराबरीमा रोकिएपनि समूह एचको अल्जेरियाले ४ खेलमा १० अंक जोड्यो । जिम्बावे ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल्जेरिया तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।