नेकपा विभाजन हुन सक्ने प्रधानमन्त्री ओलीको चेतावनी

   १७ कार्तिक २०७७, सोमबार १२:०१  

१७ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

साथै प्रधानमन्त्री ओलीले सचिवालय बैठक नबोलाउने समेत बताएका छन् । अध्यक्ष प्रचण्डले गरेको ब्रिफ्रिङ उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले भने–‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग–अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’

यता प्रचण्डको कुरा सुनेपछि छलफलमा उपस्थित नेताहरुले कुनैपनि हालतमा पार्टी विभाजन गर्न नहुने बताएका ती नेताले बताए । साथै उनीहरुले बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघि आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको जानकारी दिएका थिए । उनले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।