रियलबिरुद्ध क्याडिजले पहिलो पटक जित हासिल , बार्सिलोना पनि पराजित

   २ कार्तिक २०७७, आईतवार ११:३९  

२ कात्तिक, रौतहट । नवप्रवेशी टोली क्याडिजले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा स्तब्ध बनाएको छ । एन्थोनी लोजानाले पहिलो हाफको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियलबिरुद्ध क्याडिजले पछिल्लो ३० वर्षमा पहिलो पटक जीत हासिल गरेको हो ।

जिनेदिन जिदानको टोलीले खेलमा नियन्त्रण कायम गरेपनि विपक्षीको पोष्टमा मात्र दुईवटा प्रहार गर्न सक्यो । लुका जोभिचले गोल गरे पनि करिम बेन्जेमा अफसाइड रहेको कारण त्यसलाई रद्द गरिएको थियो । खेल सकिन १० मिनेट अघि बेन्जेमाको शक्तिशाली प्रहार पोष्टमा लागेको थियो ।

योसँगै रियलको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । उता, क्याडिजको भने स्वपनिल यात्रा कायम राख्दै शीर्ष स्थानमा रहेको रियलसँग अंक बराबरी गरेको छ ।

उता, उपाधि दाबेदार बार्सिलोनाले पनि सिजनको पहिलो पराजय ब्यहोरेको छ । बार्सा गेटाफेसँग १–० गोल अन्तरले पराजित बनेको हो ।

जेमी माटाले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल नै खेलमा निर्णायक बनेको थियो । यसअघि पहिलो हाफमा कप्तान लियोनेल मेस्सीको प्रहार पोष्टमा लागेको थियो, एन्टोनी ग्रिजमानको प्रहार बाहिरिएको थियो ।

एल क्लोसिको अघि दुवै टोलीले खेल हारेको सन् २००३ पछि पहिलो पटक हो । शनिबार सिजनको पहिलो क्लासिकोमा दुई टोली भिड्दैछन् ।

अन्य खेलमा सेभियालाई ग्रनाडाले हरायो भने एथ्लेटिको म्याड्रिडले सेल्टाभिगोलाई २–० गोलले पराजित गर्यो ।

एजेन्सी