चेन्नई सुपरकिंग्सलाई ५ विकेटले हराउँदै, दिल्ली शीर्ष स्थानमा
२ कात्तिक, रौतहट । शनिबार राति भएको आइपीएल खेलमा दिल्ली क्यापिटल्स अर्को बिजय हाथ पार्न सफल भएको छ। दिल्लीले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो।
चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो।
दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे। धवनले नटआउट १०१ रन जोडे। उनले ५८ बलमा १४ चौका र १ छक्का हिर्काए।
अक्षर पटेलले नटआउट २१ रन बटुले। उनले ५ बलमा तीन छक्का हिर्काए। उनले तीन वटै छक्का अन्तिम ओभरमा हानेका थिए।
अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको अवस्थामा पटेलले चेन्नईका बलर रविन्द्र जडेजालाई सुरुवाती तीन बलमा दुई छक्का हानेका थिए। चौथो बलमा दुई रन लिएका उनले पाँचौ बलमा अर्को छक्का हिर्काएका थिए।
त्यसअघि ओपनर पृथ्वी शा दोस्रो बलमै शून्यमा आउट भएका थिए। यस्तै अजिन्का राहाणे ८ रनमा आउट भए। कप्तान श्रेयस इयरले २४ रनको योगदान दिए।
बलिङमा चेन्नईका दीपक चाहरले २ विकेट लिए।
शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन जोडेको थियो। चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको योगदान दिए।
जितसँगै दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ।