ऋचाको प्रश्नः कति जनाको बलात्कार भएपछि गम्भीर हुने छ, सरकार
३० असोज, रौतहट । सामाजिक सञ्जाल चलाउने सेलिब्रेटीहरूका आ(आफ्नै शैली र मान्यता छन्। यहाँ केही निजी प्रदर्शन र स्वान्त सुखमा रमाइरहेका पनि भेटिन्छन्। केहीका लागि भने सामाजिक सञ्जाल सार्वजनिक सरोकारका विषयमा टिप्पणी गर्ने माध्यम बनिरहेको छ।
ऋचा शर्मा तिनैमध्ये पर्छिन्, जो सामाजिक सञ्जाललाई सार्वजनिक बहसको एउटा महत्वपूर्ण माध्यम मान्छिन्। र, कलाकारका रूपमा आफू त्यो माध्यमको संवाहक बन्नुपर्ने सोच राख्छिन्।
कलाकारमा एकै पटक ठूलो समूहलाई प्रभाव पार्न सक्ने क्षमता हुन्छ। त्यसैले त भनिएको हो, कि नेताले सक्छ कि अभिनेतारअभिनेत्रीले सक्छ, उनी भन्छिन्।
नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि सक्रिय ऋचा थप्छिन्, तर हामी कलाकारले यो शक्तिको अर्थ अझै बुझ्न बाँकी हो कि जस्तो अवस्था छ।
ऋचा यसलाई कलाकारले समाज नबुझेको वा उनीहरू संवेदनशील नभएको अर्थमा मात्र बुझ्न नहुने बताउँछिन्। कला क्षेत्रका हामी धेरैमा गम्भीर मुद्दामा बोलेर किन झमेला मोलिहाल्ने भन्ने सोच हाबी छ जस्तो लाग्छ। धेरै जना यो वा त्यो राजनीतिक दलसँग नजिक भएकाले पनि खुलेर बोल्न हिचकिचाउनु हुन्छ।
ऋचा फेसबुक र ट्विटरमा निर्धक्क प्रस्तुत हुन्छिन्। उनी निरन्तर आफैं लेखेर वा अरूले लेखेका सामग्री सेयर गरेर सामाजिक संवादमा सहभागी भइरहेकी छिन्।
पछिल्लो पटक, बलात्कारका विषयमा ऋचाका दुई वटा पोस्ट उनको सक्रियताको उदाहरण मान्न सकिन्छ। बलात्कारबारे उनको प्रतिक्रिया धेरैले सराहना गर्दै सेयर गरे।
दिनमा ७ जना जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन, दुई साताअघि देशका गृहमन्त्री रामबहादुर थापाले विश्वका अन्य देशसँग तुलना गर्दै औसतमा दैनिक सात जना जति बलात्कार हुनु चिन्ता लिनुपर्ने स्थिति नरहेको अभिव्यक्ति दिएका थिए।
उनको यस्तो अभिव्यक्ति सुनेर प्रतिक्रिया जनाउनेमध्ये ऋचा पनि एक हुन्। गृहमन्त्री थापाको भनाइको टिप्पणी गर्दै ऋचाले बलात्कारलाई हलुका रूपमा लिने केही पूर्व मन्त्रीका भनाइ सेयर गर्दै लेखिन्– याद राख्नुहोला यी नाम, इतिहासमा लेखाजोखा हुनेछ।
उनले सार्वजनिक गरेका नाममा वामदेव गौतम र रामनारायण बिडारी पनि थिए।
गृहमन्त्रीले बलात्कारलाई सामान्य भनेको केही दिनअघि दुई असामान्य घटना भए।
एउटा, बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या। अर्को, भक्तपुरको बसभित्र १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार।
गाउँ होस् वा सहर, न घरभित्र न बाहिर, समाजमा महिलाहरू कतिसम्म असुरक्षित छन् भन्ने प्रतिनिधि घटना हुन् यी। ऋचा एकपछि यस्तो घटनाले आफूलाई मानसिक रूपमै आघात पारेको बताउँछिन्।
असुरक्षा भनेको डर हो। यस्तो समाजमा भोलि मेरो छोरी जन्मिन् भने उनलाई कसरी सुरक्षित राख्न सकूँला, उनले भनिन्, यो चिन्ता मेरो मात्रै हैन। हरेक आमा, दिदीबहिनीहरूको हो। यो चिन्ता बुबा, दाइभाइहरूको पनि त हो नि। हैन र
टेलिफोन कुराकानीमा उनको आवाज सुन्दा चिन्तासँगै रिसको मात्रा पनि मिसिएको महशुस हुन्थ्यो।
सोधिन्, कति जनाको बलात्कार भएपछि सरकार गम्भीर हुने हो । यस्तो दुर्घटना भोलि सरकारमा बस्नेहरूकै घरमा भयो भने पनि गृहमन्त्रीले यसरी नै बोल्नुहोला ।
यस्तै चिन्ता र रिसको आवेगमा उनले गत साता प्रधानमन्त्रीलाई सम्बोधन गरेर खुला चिठी समेत लेखिन्। यो चिठी उनले आफ्नो फेसबुक र पेजमा पोस्ट गरेकी थिइन्।
अब त अत्ति भयो भनेर आमनागरिकको हैसियतले प्रश्न गर्न पाउने हक प्रयोग गर्दै प्रधानमन्त्रीलाई चिठी लेखेकी हुँ, उनले भनिन्, हामीले गर्न सक्ने भनेकै बोलेर वा लेखेर छटपटी पोख्ने र सरकारलाई झकझकाउने त हो ।
सामाजिक सञ्जाल वा अरू माध्यमबाट एक(दुई पटक बोलेर नपुग्ने कुरा ऋचाले बुझेकी छन्। त्यही भएर निर्मला हत्याकाण्डदेखि अहिलेसम्म बलात्कारका विषयमा निरन्तर पोस्ट गर्न छाडेकी छैनन्। ऋचाका सबै पोस्टमा आलोचना मात्रै हुँदैन। उनले एसिड आक्रमणकारीलाई सजाय दिने कानुनी विधेयकको सराहना पनि गरेकी छन्।
एसिड छ्याप्नेलाई जस्तै बलात्कारीलाई पनि कानुनी रुपमै दुरुत्साहन गर्न सकिने उनको विश्वास छ। यसमा सामाजिक दबाबको आवश्यकता रहने र त्यसमा लाखौं फलोअर्स भएका कलाकार प्रभावकारी माध्यम बन्न सक्ने उनी बताउँछिन्।
ऋचाकै उदाहरण लिने हो भने पनि यो कुरा जायज लाग्छ। फेसबुक पेजमा ऋचालाई पछ्याउनेहरू दुई लाख सन्ताउन्न हजारभन्दा बढी छन्।
ऋचा व्यक्तिगत रूपमा एकदमै सकस पार्ने संवेदनशील कुराहरू वा आफूलाई महत्वपूर्ण लागेका अरूका कुरा पनि सामाजिक सञ्जालमा सेयर गर्न रुचाउँछिन्। ती सामग्री एकैपटक लाखौंमा पुग्ने भएकाले त्यसको केही न केही प्रभाव पर्ने उनको विश्वास छ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको चिठी हजारभन्दा बढीले सेयर गरेको देखिन्छ। त्यसलाई मन पराउनेको संख्या १० हजार माथि छ।
त्यसै त कोरोना संक्रमणका कारण अस्तव्यस्त समयमा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन्। धेरैले हाम्रो आवाज कसले सुन्ला, तपाईं बोलिदिनुपर्यो भन्नुहुन्छ, उनी भन्छिन्, फेसबुकमा आएका प्रतिक्रियाले पनि यो सहरदेखि गाउँसम्मका महिलाको प्रतिनिधि आवाज हो भन्ने पुष्टि भएको छ।
निर्मला पन्तदेखि सम्झना कामीसम्म बलात्कृत हुँदा समाजमा कलाकारले बोल्दै नबोलेका भने होइनन्। अझ बालविवाह, दाइजोप्रथा र महिनावारीजस्ता विषयमा जनचेतना फैलाउनेमा केही कलाकार सक्रिय छन्। धुर्मुस(सुन्तलीदेखि पल शाह, पूजा शर्मासम्म सामाजिक सेवामा रूचि राख्ने कलाकारको पनि कमी छैन।
तर आफूलाई पर्दा मात्रै बोल्ने र सकेसम्म विवादबाट चोखो रहने सोच बदल्नै पर्छ, ऋचा भन्छिन्, कलाकारको पनि सामाजिक दायित्व हुन्छ।
ऋचाको फिल्म यात्रा फस्ट लभ बाट सुरू भएको हो। भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, उमा जस्ता फिल्ममा प्रशंसा पाएकी कलाकार हुन् उनी। आफूले फिल्म क्षेत्रमा धेरै परिवर्तन देख्ने मौका पाएको बताउँछिन्।
प्रविधि प्रयोग, वियषवस्तु र प्रस्तुतिसँगै काम गर्ने तरिकामै सकारात्मक हेरफेर महसुस गरेकी छन् उनले।
फिल्ममा काम गर्ने सुविधा र विषयवस्तुमा संवेदनशीलता बढेको छ। देश पनि यही समयमा संघीय लोकतान्त्रिक बन्यो। महिलाहरू ठूल्ठूला सरकारी पदमा पुगे। राष्ट्रपति नै महिला छिन्, ऋचा सोध्छिन्, समाज अगाडि बढेजस्तो पनि लाग्ने, खुलेआम बलात्कारका घटना पनि हरेक दिन सुनिरहनुपर्ने, यो कस्तो विरोधाभास ।
सामाजिक सञ्जालमा आवाज उठाए पनि निरन्तर सबै विषयमा अभियन्ताहरू जस्तै सक्रिय हुन भने सम्भव हुँदैन। त्यसैले ऋचा कला क्षेत्रमै बसेर पनि समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताउँछिन्।
यतिबेला उनले बनाउने फिल्म पनि लैंगिक विषयकै सेरोफेरोमा छ। भन्छिन्, छोराछोरीको विभेद घरबाटै सुरू हुने भएकाले यसै विषयलाई केन्द्रमा राखेर स्क्रिप्टको काम भइरहेको छ।
फिल्मले समाजको चित्रण गर्ने र समाज बदल्न समेत धेरथोर योगदान गर्नेमा दुईमत छैन। तर तिनै कलाकार कला क्षेत्रभित्रकै समस्यामा नबोलेको आरोप पनि लाग्ने गरेको छ।
पछिल्लो पटक फिल्म क्षेत्रभित्र मिटु का बारेमा को बोल्यो, को बोलेन भन्नेसम्मको लेखाजोखा भएको थियो। भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मीबीचको विषय पछिल्लो उदाहरण हो।
ऋचा भन्छिन्, मान्छेको स्वभाव आफैंलाई परेपछि बोल्ने हो। धेरै जना आफ्नै क्षेत्रको बारेमा बोल्न थाल्नुभएको छ। खुसी लाग्छ।
आज अरुको समस्या भोलि आफ्नै पनि हुनसक्ने भएकाले जसले बोले पनि ऐक्यबद्धता जनाउने संस्कारको खाँचो देख्छिन् उनी। संकटमा को बोल्यो, बोलेन भनेर हेर्ने समूह भए पनि के, कति र कहिले बोल्ने भन्ने कुरामा व्यक्तिको निजी छनोट मुख्य मान्छिन्। कसलाई कुन विषय संवेदनशील लाग्छ भन्नेमा धेरै कारणले काम गरिरहेको हुन्छ। कुनै विषयमा अर्को कलाकारले बोले ऐक्यबद्धता जनाएर साथ दिने बताउँछिन्।