नेकपामा फेरि छलफलको डेट एक्सपाएर

   २७ आश्विन २०७७, मंगलवार ११:१३  

२७ असोज, रौतहट । सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन् ।

उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे । त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग पनि अविश्वासको प्रस्ताव फिर्ता गराउने उपायका विषयमा छलफल गरेका छन् ।

दाहालले ओलीसँग बिहान ९ बजेपछि करिब सबा घन्टा छलफल गरका छन् । स्रोतका अनुसार छलफलका क्रममा ओलीले आफूले अविश्वास प्रस्ताव फिर्ता गर्न पहल गर्ने तर प्रदेशसभाका सांसद नै निर्णायक हुने अवस्था देखिएको बताएका थिए । ‘ओलीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुमा आफ्नो संलग्नता नरहेको बताउनुभयो । उहाँले प्रस्ताव फिर्ता गर्ने विषयमा गोलमोटल कुरा गर्नुभयो, स्पष्ट जवाफ दिनुभएन’, दाहाल निकट स्रोतले भन्यो ।

दाहालले भने पार्टी एकताको भावाना अनुसार कर्णाली प्रदेशमा पूर्वमाओवादी केन्द्रले मुख्यमन्त्री पाएको स्मरण गराउँदै त्यसविरुद्ध पूर्वएमाले खेमा प्रस्तुत हुँदा एकताको मर्ममा ठेस पुग्ने बताएका थिए । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा दाहालले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु ठीक नभएकाले त्यसलाई फिर्ता लिन पहल गर्न ओलीलाई आग्रह गरेका थिए ।

ओलीको समर्थनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्यायएको बुझाइ पूर्वमाओवादी केन्द्र पक्षको छ ।

तर, ओलीले आफ्नो समर्थनमा यस्तो काम नभएको जबाफ दाहाललाई दिएका छन् ।