राजस्थानलाई ४६ रनले हराउदै दिल्लीको शानदार जित
२४ असोज, रौतहट । दिल्ली क्यापिटल्स आइपिएलमा शीर्ष स्थानमा फर्किएको छ। दिल्लीले शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले हराउंदै फेरि शीर्ष स्थानमा फर्किएको हो।
शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ। समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ। राजस्थान भने ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।
शुक्रबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो।
उसका लागि शिमरन हेटमेयरले ४५ रन जोडे। उनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गरे। मार्कोस स्टोइनिसले ३९ रन जोडे भने कप्तान श्रेयस इयरले रनआउट हुनुअघि २२ रनको योगदान दिए। ओपनर पृथ्वी शाले १९ रन बटुल्दा हर्षल पटेलले १६ रन र अक्षर पटेलले १७ रन जोडे। १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले कमजोर ब्याटिङ गर्यो। राजस्थान २ बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो।
राजस्थानका लागि राहुल टेवाटियाले ३८ रन जोडे। कप्तान स्टिम स्मिथले २४ रन तथा ओपनर यशस्वी जैशवालले ३४ रनको योगदान दिए।
बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए। रविचन्द्रन आस्विन र मार्कोस स्टोइनिसले २-२ विकेट हात पारे। ४ ओभरमा २२ रन खर्चिएका आस्विन प्लेयर अफ दि म्याच भए।