के हो, मुस्कानको मनोविज्ञान

   १४ आश्विन २०७७, बुधबार १६:१३  

१४ असोज, रौतहट ।
मुस्कान आफैमा भाषा हो, आफैमा भाव हो । जब हामी आनन्दित र खुसी अनुभूत गर्छौं, हाम्रो अनुहारमा शान्त एवं प्रफुल्ल भाव प्रकट हुन्छ । यतिबेला हाम्रो ओंठमा मुस्कान छाउँछ ।

तपाईंले कति ख्याल गर्नुभएको छ, जब हामी मुस्कुराउँछौं मन आनन्दित हुन्छ । शान्त हुन्छ । उमंगको लहर चल्छ । क्षणभर नै सही, रिस, कुण्ठा, भय, तनाव, वेचैनी हट्छ । त्यती मात्र कहाँ हो र जब तपाईं हाम्रो अनुहारमा मुस्कान प्रकट हुन्छ, हामी उभिएको वातावरणमा खुसियली छाउँछ । आसपासमा बसेका मान्छेहरुमा त्यसको प्रभाव देखिन्छ ।

अति सामान्य र स्वभाविक भावनात्मक स्थिति हो । तर, यसको प्रभाव गहिरो र सर्वत्र छ । जब हामी मुस्कुराउँछौं यसले हामीलाई मानसिक र शारीरिक रुपमै फाइदा गर्छ । त्यसैले त भनिएको छ, मुस्कान आफैमा एक उपचार हो । ओखति हो ।

अझ काइदाको कुरा त के भने, मुस्कुराउनका लागि हामीलाई त्यस्तो विशेष अवसर प्राप्त भइरहनुपर्दैन । न यसलाई हामीले बाहिरी श्रोतबाट ल्याउनुपर्छ । किनभने यो हामी भित्रैबाट प्रकट हुने भाव हो ।

मुस्कानको अनेक फाइदा छन् । यसले हाम्रो आत्मविश्वास अरु दरिलो बनाउँछ, मैत्रीपूर्ण व्यक्तित्व निर्माण गर्छ । मुस्कानले हाम्रो शरीरलाई उत्तेजना र भयबाट टाढा राख्छ । खुलेर हाँस्नाले रक्तनली खुल्छ र रगत राम्रोसँग शरीरको अन्य भागमा पुग्छ । हाँसोले रोगप्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।

मनोचिकित्सकहरु भन्ने गर्छन्, मानसिक स्थितीलाई सही राख्न मुस्कानले थेरापीको काम गर्छ ।

तर, कस्तो मुस्कान

यसमा घतलाग्दो जवाफ छ । मुस्कानको श्रोत हृदय हो । हृदयबाट उठ्ने उमंगको लहर ओंठ हुँदै आँखा र समग्र अनुहारमा पोतिनुपर्छ । यसले अनुहारमा बेग्लै आभा पैदा गर्छ ।

प्रायजसो मुस्कान सच्चा र मनदेखि नै आँउछ । मुस्कुराहटको हाम्रो विचार र भावनाहरुसँग गहिरो सम्बन्ध हुन्छ । अरुको राम्रो गुणमा ध्यान दिएर हेर्ने हो भने हामीलाई मुस्कुराउन कुनै समस्या हुँदैन ।

सँधै मुस्कुराउन भन्दा पहिले सहज हुने कोसिस गर्नुहोस् होइन भने मुस्कान नक्कली देखिन्छ । जब मुस्कान मनदेखि नै निस्कन्छ त्यखिखेर आँखामा चमक हुन्छ र अरुलाई यो बुझ्न बेर लाग्दैन कि यो मुस्कान सच्चा हो र मनदेखि कै हो ।

तर, केही मानिसहरुको लागि मुस्कुराउनु सजिलो हुँदैन । उनीहरुलाई मुस्कुराउन आँउदैन भन्ने त हुँदैन तर उनीहरु गम्भिर माहौलमा हुर्केबढेका हुन्छन् र उनीहरुलाई सानैदेखि गम्भिर बन्न जोड दिइन्छ । यस्तोमा उनीहरु मनमा प्रेम हुँदाहुँदै पनि मुस्कुराएर कुरा गर्न पाँउदैनन् ।

यस बाहेक केही मानिसहरु लजालु स्वभावका हुन्छन् । यसैकारण मुस्कुराउनु उनीहरुको लागि सजिलो हुँदैन । फेरि मानिसहरुको स्वभाव पनि फरकफरक हुन्छ । कोही धेरै मुस्कुराउँछन् भने कोही कम । तर, एक सानो कोसिस त गर्न सकिन्छ ।

यदि तपाईं मुस्कुराएर कसैलाई बोलाउनु हुन्छ भने भने उनीहरु पनि तपाईंलाई कदर गर्नेछन् र आफू पनि मुस्कुराउँछन् । त्यतिखेर मुस्कुराउनु तपाईंको लागि सजिलो हुन्छ

भनिन्छ हरेक मुस्कान सच्चा हुँदैन र यो सत्य पनि हो । केही मुस्कान बनावटी र कुटिल पनि हुन्छन् ।

स्वार्थी, कपटी, धोकेबाज मानिसहरु लोभ्याउनको लागि राम्रो मुस्कान दिन सक्छन् तर, उनीहरुको मुस्कान खोक्रो हुन्छ ।